हर लेखन–क्रियाको पछाडि मेरै प्रतिक्रिया दौडिरहेछ । कलम समाउनुको अर्थ यो पनि रहेछ । त्यसैले त बाहिरी पाठशाला नै भित्री पाठशालाको आधारशीला भइरहेछ । मेरो अधिकांश समय बाहिरी पाठशालामै बित्छ । त्यहाँ पढिएका–नपढीएका, बुझिएका–नबुझिएका, सन्तुष्ट–असन्तुष्ट प्रसङ्गहरु आउँदा यो मन भित्री–पाठशाला छिर्छ । त्यसबारे नवअध्ययन आरम्भ गर्छ । जिज्ञासा र समस्या समाधानार्थ सिर्जना आरम्भ गर्दा उसको भाव र कला सार्वजनिक हुने गर्छ ।
समयको गतिसँगै सिर्जनाले पनि नयाँ–नयाँ भाषा, परिभाषा, तर्क, विचार र शैली दिइरहेको हुन्छ । गतिशीलतामै परिवर्तन मौलाइरहेको हुन्छ । फलतः नयाँ सिर्जनाले पुरानो सिर्जनालाई अस्थायी बनाइदिन्छ । तत्कालीन सिर्जनाको पूर्णताले सर्जकलाई पनि थान्को लगाइदिन्छ । नवसिर्जना प्रारम्भ नै सर्जकको पुनर्जन्म हो । यो नै सर्जकीय गतिशीलता हो । गतिशीलतामा नै जोडिन्छन्– जीवन र जगत् विषयक प्रश्नहरु । कमसेकम आफ्नै अनुभव र अनुभूतिबाट खोजिन्छन्– उत्तरहरु । कुतूहलता भइरहन्छ– बौद्धिक साझेदारीका लागि, पाठक मन्तव्य र समीक्षाका लागि । आफ्नोबारे आफैले कोट्याउँदा ख्याल हुन्छ– पुस्तकप्रतिको रुचि हुनुमा मस्तिष्क पक्षभन्दा ह्रदयपक्ष पो अग्रसर रहेछ । मान्छेलाई प्रभाव पार्ने त हाँसोले भन्दा संवेदनाले पो रहेछ ।
आत्माराम ! भन त कस्तो लाग्यो आफ्नो रचना ? कस्तो पायौ प्रतिक्रियाहरु ? कि त्यही रोगले समातेको छ …? सकारात्मकमा फक्रिने, नकारात्मकमा खुम्चिने, पुरस्कृतमा स्तुती र प्रशंसा, अनि तीरस्कृतमा गालीगलौज लगायतका मानसिकताकै वरिपरि घुमिरहेछौ ? आफूले जन्माइसकेपछिको सिर्जनामा आफैले खोट देख्यौ होला, आफैलाई ओठ लेप्¥यायौ होला, नाक खुम्च्यायौ होला । अनि तर्सियौ पनि होला– आफ्नो सिर्जना आफैलाई चित्त नबुझेर । ठान्यौ होला– अब भरमार प्राप्त हुनेछन्, आलोचनाका भारी । तर, सुन्यौ आत्माराम ! मलाई बडो रमाइलो लाग्छ तिम्रो आदत !
‘कस्तो आदत ….?’
‘समालोचनाको भारी बोक्न सधैं तम्तयार आदत ।’
‘हिं हिं … ! त्यस्तो भारी बोक्नु त लेखकीय दायित्व नै हो नि !’
‘आजभोली के लेखिरहेछौ ?’
‘जीवन र जगत्का बारेमा लेखिरहेछु ! संसार सुन्दर देखिरहेछु । किनकि यहाँ मान्छे छन् र ती हाँस्न पनि जान्दछन् । यी जीव अरु जीवभन्दा धेरै चेतनशील छन् । यिनै चेतनशील जीवभित्र थुपै्र लोभी–पापी पनि छन् ।’
‘आत्माराम ! भन त तिमी किन लेख्ने गर्छौ ?’
म धेरै कुराहरुबाट भाग्न खोजें । केहीबाट भाग्न सकें । तर, लेखनबाट भाग्नै सकिनँ । किनकी भाग्ने प्रयत्नै गरिनँ, भाग्नै चाहिनँ । त्यस्तै लेखनलाई जीवन पूर्वाद्र्धमै समाउन सकिनँ । कारण अलिक चाँडो कलम समाउने परिस्थिति नै पाइनँ । तर पनि मलाई अक्षरसित प्रेम छ । शब्दसित नशा छ । लेखनसित लगाव छ । केटौले उमेरमा बसेको लेखनभूतले यतिबेला पनि ममा डेरा जमाइरहेछ । आफैलाई अचम्म लाग्छ, लेखनप्रतिको यो मोह !
आजकल जति लेखिँदै, अभिव्यक्तिँदै जान्छु उति रित्तिँदै पनि जान्छु । रित्तिँँदै जानुले मन हलुङ्गो भइदिन्छ । अभिव्यक्तिएर रित्तिनु मेरो चाहना । हर दिन घरभित्र र बाहिर हुने गतिविधि, त्यसप्रति गरिने अध्ययन र चिन्तनबाट हुने अनुभव र अनुभूति मबाट अभिव्यक्तिन चाहिरहन्छ । यसर्थ पनि यी औंलाहरु कलममा टाँसिइहन्छन् वा किबोर्डका किहरु थिचिरहन्छन्– टिक् टिक् … टिक् टिक् … ।
लेख्न बस्दा निद्रा भाग्छ । भाव पोख्न थाल्दा भोक समेत पर सर्छ । र त, कहिले ठेस लागेर लेखें, कहिले रमाएर लेखें । जति लेखें लेख्नु नै बेस ठानेर लेखें । लेखेकामध्ये धेरैजसो ह्रदयले लेखें , केहीचाहिँ मस्तिष्कले लेखें । आफ्नो ब्रह्मले जे–जे देखें त्यो–त्यो लेखें । जे–जति पढें, त्यसबाट जे–जति बुझें त्यही नै मेरा लागि ज्ञान भए । जे–जस्तो व्यवहारमा परें त्यहीँ मैले अनुभव पाएँ, त्यसैबाट अनुभूत भएँ । आफ्नै कतिपय घटना–परिघटनालाई लेखन सामग्री बनाएँ । किनकी आफूभित्र पनि एउटा मानव पाएँ । उसैको साथ र हात पाएँ । फलतः आफूलाई जगाएँ, नङ्ग्रा खियाउँदै पसिना बगाएँ । भनौं, पठन र लेखनलाई आफ्नो जीवन उत्तराद्र्धका दैनिकीमा पूर्णकालीन रुपमै डो¥याएँ ।
हर रचना दुईचोटी जन्मन्छन्– पहिले लेखकबाट, पछि पाठकबाट । रचना जन्माउँछन् लेखकले, लेखक जन्माउँछन् पाठकले । अरुकोमा छन् कि छैनन् कुन्नी ? तर मभित्रको लेखन गृहमा सल्लाहकार, भुमिकाकार, प्रकाशक, समीक्षक र पाठक पनि छन् । तिनले भन्छन्– तिमीले यसरी जन्मनु पर्छ, उसरी उभिनु पर्छ । तिमी आउनु पर्छ मौलिक विचार लिएर, नवीन शैलीमा पोखिएर, भाषामा तिखारिएर । कति रमाइला लाग्छन्– सुझावहरु । आत्मीय लाग्छन्– समालोचनाहरु । फलतः एउटा निचोडमा पुग्छु– आफूले देखे–सुनेका, जाने–भोगेका, आफ्नै ह्रदयले अनुभूत गरेका, आफ्नै मस्तिष्कले अनुभव गरेका कुरा नै सबैभन्दा मौलिक हुन्छन् । त्यसैले त आफूलाई हर बखत अक्षर अदालतमा उभ्याउन चाहन्छु– कलात्मक रुपमा । एडम स्मिथको अर्थशास्त्रीय कठघरामा समेत उभ्याउँदै सोच्छु– बजार (पाठक)को माग र आपुर्ति (प्रकाशक र बिक्रेता)ले राज गरेको खुला बजारमा खुला रुपले प्रस्तुत हुन सकुँ । अघिकै एक टुक्रो दोहो¥याउँ– मभित्रको पाठक पृथक दृष्टिले हेर्छ, गम्छ, पर्गेल्छ र पुनर्लेखन गर्छ । किनकि मभित्रको पाठकले स्वीकृती नदिएसम्म आफ्ना रचनालाई सार्वजनिक गर्न यो बाहिरी मनले अप्ठेरो मान्छ ।
मेरो अन्तरात्माको शब्द नै मेरो विचार हो । मेरो प्रस्तुति नै मेरो सौन्दर्यता हो । मेरो ह्रदय नै मेरो किताब हो । भावनाको कलात्मक लिपिबद्धता नै लेखकीय धर्म हो । भित्री लेखक अगोचर भइरहँदासम्म भावना लिपिवद्ध हुन मुश्किल भइरहन्छ । अगोचर लेखक प्रकट हुन खोज्दा नै लिपिबद्ध गर्न थालिन्छ । यतिले मात्र न लेखनखेल सकिन्छ न लेखकीय मन थामिन्छ । कारण शुन्य कागतमा पोखिनु कठिन छ । पोखिएर पाठकको मनमा भित्रिनु झनै कठिन छ । लेखकीय दिमागबाट कुनै विषय निस्किनु र त्यो पाठकीय दिमागमा भित्रिनुसम्मले एउटा लामो प्रक्रिया पार गर्छ । त्यसैले मभित्रको लेखक भावनामा तरङ्गीरहेको हुन्छ– कसरी लिपिबद्ध गरुँ भनेर । शब्द गोडमेल गरिरहेको हुन्छ– कसरी रोचक बनाउँ भनेर । भावनामा नतरङ्गीने लेखक के लेखक ? आफ्नै अघिल्लो रचनालाई नजित्ने ऊ वीर हुँदै होइन । आफैलाई पनि नजित्ने ऊ महावीर त हुँदै होइन । सामान्य गतिमा के उत्तेजना ? सामान्य विचारमा के मज्जा ? सामान्य कोणमा के स्वाद ? विना परिवर्तनमा केको रस ? कारण परिवर्तन आफैमा सुन्दर कर्म हो । जीवनले सधैँ खोजीरहेको हुन्छ– कोमलता, मौलिकता र सुन्दरता । चाहिरहेको हुन्छ– व्यवहारमा हुने तन, मन र वचनमा शुद्धता । त्यसो त लेखन दिशा तय गर्ने भाव (विचार)ले नै हो, कलाले होइन । भावलाई सुनुँ–सुनुँ वा पढुँ–पढुँ लगाउने त कलाले नै हो, न कि सादा अभिव्यक्तिले । विचारको गहिराई र कलात्मक शैलीबाटै सिर्जनाले उचाई पाउने हो, न कि निद्रालु गायनले ।
अभिव्यक्तिको भोकले आक्रान्त हुँदै जाँदाको लेखक मानसिक रुपमै छटपटाउँछ । त्यो छटपटीले लेखकीय मस्तिष्कमा उत्पात मच्चाउँछ । अनि त मन भन्छ एकथोक, लिपिवद्ध हुन्छ अर्कैथोक । कति व्यावसायिक छ यो मस्तिष्क ! आफ्नै मन र मस्तिष्कबीचमै पनि यो दूरी किन हँ ? लेख्नु मेरो धर्म, लेखि नै रहन्छु । लेख्दै जाँदा मस्तिष्क राप शान्त हुँदै जाँदोरहेछ । आफू भित्रभित्रै हराउँदै जाँदा मन पनि टोलाउँदोरहेछ । अनि त अनुभूती हुँदोरहेछ– आफूभित्र शून्य नै शून्य भरिएको, एउटा शून्याकारमा उभिएको । तर वर्षाैँदेखिको छटपटी लिपिबद्ध हुँदै जाँदा यो मन चङ्गाझैँ हलुङ्गो भइरहेको हुन्छ । सकारण मनभित्र र बाहिरको दूरि तथा लेखक र पाठकबीचको नातोले पनि जिउने कला सिकाइरहेको हुन्छ ।
मेरै वरिपरि झुम्मिरहेछन्– पुस्तक, कलम र कापी । यिनको आधुनिक स्वरुप पनि ‘स्ट्यान्डबाइ’ छ– कम्प्युटर एक सेट । यिनैले बाँच्नका लागि आशा र उमङ्ग, हौसला र भरोसा दिइरहेछन् । विगत थियो, त्यसैले म थिएँ । वर्तमान छ, त्यसैले म पनि छु । र त, वर्तमानसितै भलाकुसारी गरिरहेछु । यतिबेला आफ्ना शब्दलाई विगतको आफू हेर्ने माध्यम बनाइरहेछु । देखिरहेछु– आफू अस्ति र हिजोझैं आज पनि बदलिइरहेछु । समय, समाज, इच्छा, आकाङ्क्षा सबै बदलिएका छन् । तिनका प।िरभाषाले समेत भोटो फेरेका छन् । मेरो सपना त उही हिजो अस्तीकै त हो नि । कैयौँ उतार–चढाव, खोला–नाला, भीर–पाखो, उकालो–ओह्रालो गरेर यतिबेला फेरि कलम कापी समाउन थालेको छु । कसैको कहरले होइन, आफ्नै रहरले । लेखन–पठन त आफूलाई कहिले पाठकको रुपमा राखेर, कहिले समीक्षकको रुपमा राखेर गराउँछु । कहिले काल्पनिक व्यक्तिलाई ऐनाअघि उभ्याउँछु त कहिले ऐनाको छायाँसितै आफूलाई संवाद गराउँछु । त्यसैमा कहिले आफ्नै अनुहार पाठक बन्छ त कहिले त्यही छायाँ काल्पनिक व्यक्ति । भनौं विविध पात्रहरु उभिन्छन्– आफूसामु । र, ती काल्पनिक छायाँ नै मेरा लागि सरस्वती हुन्, सचेतक र एक प्रेरक पनि । तिनैसितको वार्तामा तयार हुँदै जान्छन् रचना पनि ।
म पहिले एक चिन्तक बन्छु– नाट्यशालाको दर्शकझैँ भएर । उसको अनुभव र अनुभूति लेखिटोपल्छु– उसकै आत्मसंस्मरक भएर । (भनौं एक अगोचरी लेखकझैं भएर ।) कति अनौठो छ यो लेखनक्रिया ! आफ्नो रचनाको पहिलो पाठक आफैलाई बनाउँछ । एउटा लेखकको रुपमा पाठक भएर पढ्दा; अझ फरक पाउँछ– भाव र कलापक्ष । र, उक्त पाठकको प्रतिक्रियाले पुनर्लेखनमा अग्रसर गराउँछ । अनि त कमसेकम मभित्रकै पाठकदेखि मभित्रकै लेखकले अझ बढी सचेतता अपनाउँछ ।
बोल्दा शब्दहरु हावामै उड्दो पनि रहेछ । एउटा कानबाट भित्रिएको शब्द अर्को कानबाट भाग्दो पनि रहेछ । जब तिनै शब्दहरु लिपिबद्ध र छापावद्ध भई बजार प्रवेश गर्छन् तव अघि कानबाट भागि भागि खिसि गर्ने मानसिकतामा निकै चोट पनि लाग्दोरहेछ । अक्षरले जब समाजमा बोल्न थाल्छ त्यसले कतिपयलाई पोल्न थाल्छ । यस्तै परिवेशले त हो नि नेपोलियनलाई सम्झाउँछ– ‘तरवारभन्दा कलम शक्तिशाली हुन्छ ।’ फलतः रचना प्रारम्भ गर्दा मनभरि सन्तोष छाउँछ, तयार हुँदा रमाइलो लाग्छ, छापिएर आउँदा आनन्द लाग्छ । अनुभव हुन्छ– लेखनमा आफ्नो जीवन यात्रा सलल्ल बगिरहेझैं पनि । अनुभुत हुन्छ– यसमा आफ्नै खाल्को रमाइलो संसार पनि । र, लाग्छ– लेखनमय यात्रा सोखीलो पनि ।
मानिस सन्तुष्ट छैन– भएर पनि, नभएर पनि । प्राप्तीमा पनि, अप्राप्तीमा पनि । त्यसैले उसको मनमा कहिल्यै छाएन शान्ति पनि । फलतः सिर्जनाका शब्दहरुमा पाठकले आफ्नै जीवन खोजिरहेका हुन्छन् । कारण त्यहाँ अनेकौं विम्बहरुमा जीवन सजिएका हुन्छन् । लेखकले जति लेखे पनि लेखि–नसिद्धिने र पाठकले जति पढे पनि पढी–नसिद्धिने यो अथाह विषय ! आखिर उत्थान हुने त जीवनबाटै हो, प्रारम्भबाटै हो । लेखिने लेखकबाटै हो । पढिने पाठकबाटै हो । यी दुबैको अस्तित्व रहिरहने त पुस्तकबाटै हो । यी दुबैका सम्बन्ध आधार सिर्जना नै हो । पाठाशालाभित्र लेखक । पाठशालाबाहिर पाठक । पाठशालाभित्रै पनि– टेबुल एउटा लेखक, कुर्सि एउटा पाठक । पाठशालाबाहिरै पनि– माइक पाठक, श्रोताचाहिँ लेखक । हेर्नोस् त ! भित्र र बाहिर, तल र माथि, पूर्व र पश्चिम या त उत्तर र दक्षिण नै पनि लेखक र पाठकका विम्ब न हुन् । मेरो विगत नै मेरो लेखन प्रारम्भ हो । विगतका अनुभव नै यतिबेला चिन्तन आधार हो । लेखन खुराक पनि । मन र मस्तिष्कका भावहरु लिपिबद्ध हुँदा सिर्जना बन्छन् । गर्भका शिशुले जब जन्म लिन्छन् तब बाहिर बातावरणमा श्वास फेर्न थाल्छन् । अनि त पाठशाला भित्र र बाहिरका पाठ पनि प्रस्ट छुट्टिन्छन् ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments