बचाउ ! म मर्न चाहन्न । आफ्नो आवाजले आफैँ झस्केँ । सँगै सुतेकी बुढी पनि झस्किँदै उठी । ऊ उठ्न भन्दा पहिला म नै झस्केर ब्युँझि सकेको थिएँ ।

के भयो हजुरलाई ? किन जोडले चिच्याउनु भएको ? नराम्रो सपना देख्नु भएको हो र ? के भयो , भन्नू न ? किन बोल्नु हुन्न हजुर (भन्दै उसले मलाई झक्झकाउँन थाली ।

म डरले कामिरहेको थिएँ । मन भक्कानिनुको साथै शरीरभरि चिटचिट पसिना छुटिरहेको थियो । मुटु ढ्याक्क फुलेको थियो । उठेर पानी खान खोजेँ । पानीको ओम्खरा तान्न सकिन ।

केही छिनपछि बलै गरेर उठेँ । पानी पिएँ । हातखुट्टा अझैसम्म फतक्क गलेका थिए । पुनः खाटमा फर्केर आएँ । यतिबेलासम्म बुढी घुर्न शुरु गरिसकेकी थिई । उसलाई नियालेर हेरेँ । म पनि सुत्न खोजेँ । सकिन सक्दै सकिन ।

एकछिन चिसो हावामा बस्छु सोच्दै उठेँ । ढोका खोलेँ र बाहिर गएर बसेँ । आकाशभरि कालो बादल डम्म लागिरहेको थियो । एकाएक कालो बादल मडारिएर बिजुली चम्कियो । चट्याङ गरेर आकाश जोडले चट्क्यो । बिजुलीका झिल्काहरु निस्किए । आँखा तिरीमिरी भए । त्यस्को आबाज कानैमा आएर ठोक्कियो । अनायास नै चिच्याउन मन लाग्यो ।

अहिलेको चट्याङ र अघिको सपना दुवैलाई सम्झे झनै डर लागेर आयो । चिटचिट पसिना आइरहेको हुनाले भित्र जान मन थिएन । बाहिर बस्न डर लागिरहेको थियो । पछाडिबाट छ्यास्रक्क आवाज आए जस्तो लाग्यो । फर्केर हेरेँ केही देखिन ।

ए भगवान ती को होलान् ? जान्न भन्दाभन्दै पनि घिसारेर लाने । मानिस हुन भने मानिस जस्ता देखिएका थिएनन् । पशु हुन भने हाम्रै भाषा प्रष्टसँग बोलेका थिए । घरिघरि भने उनीहरुले सांकेतिक भाषाको प्रयोग गर्दथे ।जुन भाषा मैले बुझ्दैनथेँ ।

ओहो बयरको घना झाडी झाडी नाङ्गा खुट्टा हिड्दा कति र्गाहो । काँडा पनि त्यति नै तिखा । राम राम मेरा खुट्टाबाट रगतको खोला बगेको । म रोएँ धेरै रोएँ । तर मेरो रोदन सुन्ने त्यहाँ कोही थिएन । तँलाई यति सजायले पुग्दैन भन्दै अर्को बाटो तर्फ मोडे। जहाँ साना काँटीहरु उल्टो बनाएर ठोकिएका थिए । काँडाको झाडीमा हिड्दा मेरा सारा पैताला छिया छिया भएका थिए । रगत सबै बगेर सकिएको थियो ।त्यसैले अब यस्तो ठाउँमा हिड्ने मेरो सामर्थ्य थिएन ।

पछाडिबाट सिस्नो पानीले झ्याम पार्दै धकल्थे । हिड्न नसकेको हुँदा कुनैले अगाडिबाट तान्ने कुनैले पछाडिबाट धकल्ने गरिरहेका थिए । घरिघरि तिनै काँटी माथि लडाइ दिन्थे । काँटीले कोपेर घाउ नै घाउ भएको थियो ।

बाँच्ने आशा मर्दै गएको थियो । केही नभनिकन सुते कै ठाउँबाट जुरुक्क उठाएर लिएर आएका हुनाले के को सजाय र कहाँ लाने हुन् मलाई केही थाहा थिएन ।
निकैबेर काँटीमाथि बाट हिँड्याए पछि ठूलो पहाडी खोचको बाटो लगे । जहाँ कोलाहलमय वातावरण थियो । कतै मानिस रोएको , कतै चिच्याएको कतै ताली पिटेको आवाज सुनिन्थ्यो । कतै गुहार गुहार बचाऊ भन्ने कोलाहल सुनेपछि अगाडि सर्न मन लागेन ।

शरीर पूर्णरूपमा शिथिल थियो । उनीहरुले मलाई घिसारी रहेका थिए । केही समय घिसारेपछि एउटा भव्य महलमा र्पुयाए । जस्लाई देख्ने बित्तिकै यमराज हुन् भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । उनीहरूले मलाई उसैको सामु हाजिर गराए र आफ्नो बाटो लागे ।

त्यहाँ पनि धेरै काम गर्ने कर्मचारीहरु थिए। सबैले अनुशासित भएरआ( आफ्नो जिम्मेवारी बहन गरेका थिए । त्यतिबेला मैले हाम्रा देशका नेताहरु सम्झेँको थिएँ । तिनीहरुले पनि यसैगरि आफ्नो जिम्मेवारी समालेर काम गरिदिएको भए म जस्ता लाखौं युवा युवती विदेशिनु पर्ने थिएन होला भन्ने कुरा सोचिरहेको थिएँ । ठिक त्यतिबेला नै सोच त निकै राम्रो रहेछ , तर आफूले किन राम्रो काम गर्न सकेनस् ? तैंले राम्रो काम गरेको भए आज यहाँ आउनु पर्ने थियो र भन्दै कोर्रा लगाए ।

म …. मैले के नराम्रो काम गरेको छु र ? हड्बडाउँदै छिटो छिटो जवाफ दिएँ ।अझै ढाँट्न खोज्छस् भन्दै एउटाले पछाडिबाट कोर्रा हिर्कायो । कोर्राले हानिरहँदा पनि मैले ढाँट्न छाडिन। तेरो फाइलमा हेरेपछि सबै थाहा हुन्छ ।पख भन्दै एकजना भित्र पस्यो ।

केही समय पछि एउटा ठूलो फाइल लिएर आयो । त्यहाँ मैले गरेका छलकपट ,चोरी चकारीका सम्पूर्ण घटनाहरु लेखिएको थियो । त्यहाँ हरेक व्यक्तिका छुट्टै फाइल व्यवस्थित रुपमा राखिएका थिए । म जस्तै व्यक्तिले त्यो ठाउँ खचाखच भरिएको थियो । शुरुमा म मात्रै छु कि भनेर डराएको थिएँ । खचाखच मान्छेको भिड र कोलाहलपूर्ण वातावरण देख्दा कता यो नेपाली भूभाग नै हो कि भन्ने भान भएको थियो ।

ए , के सोचेको ? छिटो भन् (( को को लाई ठगिस् ? सत्य बोल्ने भए बोल नत्र तँलाई यहाँबाट तल फालिदिन्छौँ । तल के छ भन्ने कुरा फाले पछि थाहा पाउँछस् ।

चिच्याउँदै भनेँ ((( केही गरेको छैन । अझै ढाँट्छस् भन्दै फेरि कोर्रा बर्सायो । र फाइल पल्टाउँदै भन्यो । के के गरिस् तैँले ? लौ हेर।
मसँग त्यो फाइल हेर्ने हिम्मत थिएन । किन कि मैले गरेका एक एक अपराध मलाई नै थाहा थियो । म एउटा अपराधी हुँ । धेरैलाई लुटेको छु । आँखा छलेर चोरेको छु । दलाल बनेर ठगेको छु ।

लुटन बानी परेको मैले आफ्ना आफन्त भारतिय पाकिस्तानी कसैलाई बाँकी राखेको थिइन । जहाँ काम गर्न गयो त्यही चोर्ने मेरो बानी परिसकेको थियो । साधारण सोझा खालका व्याक्तिलाई विश्वास दिलाएर ठग्ने मेरो प्रवृति भैसकेको थियो ।

मानिस कंगाल हुन्छ तर चण्डाल हुँदैन भन्ने सोच राख्नेहरु मसँग फेल खान्थे । पहाडी भूभाग थोरै जग्गा धेरै सन्तान हुनाले केही कमाउन सक्छु कि भन्दै म परदेश लागेको थिएँ । परदेशमा पनि खासै कमाइ नहुनाले चोरेर भए पनि परिवारको जीवन निर्वाह गर्नै पर्यो भन्ने सोचले चोर्ने हात अघि बढाएँ । बिस्तारै यी हात र हिम्मत अगाडि बढ्दै गयो । त्यही हिम्मतका कारण आज यमराजको अगाडि हाजिर छु ।

वास्तवमा मेरै कारण मेरा दिदीबहिनीहरुले पनि धेरै आँसु झारेका थिए । मेराा लागि तिनीहरुका बचेरहरुको गाँस खोसेको थिएँ । परदेशी भूमिमा दिन रात नभनिकन रगतका आँसु बगाएर काम गर्ने चेलीबेटीको श्रम लुटेको थिएँ । हो म लुटेरै हो । रगत बगाएर काम गरेको अर्कैको पैसाले मेरी छोरीको सिउँदो रङग्याए कै हुँ । हो आफ्नो जिम्मेवारी पूरा गर्नका लागि पनि लुट्नु पर्ने मेरो बाध्यता थियो । रक्सीको क्यानमा र ललीपपमा बिक्ने दुईजिब्रेहरुको यथेष्ट सहयोग पाएको थिएँ ।

लुटेर छोरीको दान गरेँ । पुन्य कमाएँ । छोरीले बाबाले खर्च गरेर मेरो बिहे गरिदिनु भयो भन्ने सोचेकी होली । तर त्यो धन मेरो थिएन । तत्कालै छोरी ज्वाइँलाई सम्झेँ । उसबाट जन्मेको सन्तानलाई सम्झेँ । सम्झेँ मेरो कर्तव्य र जिम्मेवारी । सबै भन्दा बढी त रगतका आँसु बगाएर कमाएको त्यो धनलाई सम्झेँ । जुन धन म बाट लुटिएको थियो ।

वास्तवमा म बाहिर हाँसे पनि कता कता भित्री मन त्यो लुटेको धनले पोलिरहेको हुन्थ्यो । छोरी ज्वाइँ र नातिनातिनी जस्लाई सम्झे पनि लुटेको धनको याद आइहाल्थ्यो । हो म लुटेरै हो भन्दै चिच्याउन मन लागेको थियो । त्यही बेलामा पछाडिबाट फेरि कोर्रा बर्षियो । झसङ्ग भएँ ।

एउटा भुसतिघ्रे नजिकै आएर भन्यो ( अब तँलाई पाकेको तेलको कराईमा खसालिदिन्छौँ । तँ भकभक पाक्छस् अनि मात्र सबै कुरा ओकल्छस् ।
यल्ले जसरी अरुलाई धन लुटेर रुवाएको थियो । त्यसै गरि तातो तेलको कराहीमा हालेर रुवाउनु पर्छ भन्दै केही भुस्तिग्रेहरु अगाडि सरे । मलाई उचाले र फाल्न खोजे । म जोडले चिच्याएँ र ब्युँझिएँ ।

यस्तो डर लाग्दो सपना देखेको हुनाले अझैसम्म हात खुट्टा कामिरहेका थिए । वास्तवमा क्षणिक समयको समस्या समाधानका लागि अरुलाई ठगे पनि मृत्यु पर्यन्त त्यस्को सजाय पाइने रहेछ भन्ने लाग्यो । हुन त यो सजाय मैले हरेक पलपलमा पाएको थिएँ । बिर्सन्छु भनेर पनि आफुले गरेका अपराधहरु बिर्सन सकिरहेको थिइन । एकान्तमा तिनै पलहरुले नराम्रोसँग चिमटेका हुन्थे ।

रात निकै ढल्केको थियो । केही समय भएपनि सुत्छु सोचेँ र भित्र गएँ । फेरि त्यस्तै सपना देख्छु कि ठानेर निदाउन चाहेको थिइन । नचाहँदा नचाहँदै पनि निदाए छु । ब्युँझदा त घरको रौनक नै अर्कै थियो । छोरीका सपरिवार नै आएका रहेछन् । सबैलाई देख्दा मलाई खुशी लाग्न पर्ने लागेन । औपचारिक भूमिका निर्वाह गर्दै बोलेँ ।

होइन आज के भयो बाबा ? छोरीले प्रश्न गरि । केही भएको छैन ( टार्न खोजेँ । आज राती के सपना देख्नु भएछ कुन्नि बेसरी चिच्याएर मलाई धरी सुत्न दिनु भएको छैन ((( बुढीले भनी । आमाका कुरा सुनेर छोरीले एकोहोरो मेरो मुखमा हेरिराखी । मलाई माफ गर छोरी भन्दै पाउ पर्न मन लागेको थियो । तर सकिन ।

छोरीले मैले गरेको अपराध थाहा पाएमा उसले पक्कै मलाई धिक्कार्ने छ । थुक्ने छ र सदा घृणाको नजरले हेर्नेछ । त्यसैले केही चुपचाप शिर झुकाएर बसेँ । शिर ठाडो बनाएर उनीहरुलाई हेर्ने हिम्मत नै भएन ।

बाबा हजुरले एउटा कुरा थाहा पाउनु भयो (( छोरीले सोधी । के कुरा नानी ((( उसलाई नहेरीकन सोधेँ ।
तल्लाघरे कान्छाले छोरीको बिहे छ बहिनी पैसा लेऊ न । म हिसाब मिलाउँछु भनेर मागेछ । उनले पनि विना साक्षी विना कागज विश्वास कै भरमा दिइछन् । तर पछि खाइदिए छ । छोरी जन्माएर अर्काको धन लुटेर बिहे गर्नु पर्छ भने त छोरी नै नजन्माउनु नि है । होइन त बाबा ।

म बोल्न सकिन । फेरि भनी हजुरले यस्तो गर्न सक्नुहुन्छ ? यदी त्यसरी नै ठगेर हाम्रो कन्यादान गर्नु भएको भए हजुरको मनमा कति ग्लानी हुन्थ्यो है बाबा ! छोरीको बिहे गर्न नि ठग्ने । कस्तो पापी रहेछ । त्यस्ता त मरेर जाँदा पनि सुख पाउने छैनन् ।
मैले बिस्तारै शिर उठाएँ । र उसलाई हेर्दै मनमनै सोचेँ छोरी मैले पनि त त्यसै गरेको हुनाले आज तिमीसँग खुलेर बोल्न सकेको छैन । मलाई माफ गर । तिम्रो बाबा पनि त्यही तल्लाघरे कान्छो भन्दा बढी हो छोरी कम होइन ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments