नेपाली हिन्दु धर्मावलम्वीहरूले दसैँपछि तिहारलाई दोस्रो चाडको रूपमा वैदिक कालदेखि नै मनाउँदै आइरहेको पाइन्छ । यम पञ्चकको रूपमा मनाइने यो चाड; बहिनी यमुनाले दाजु यमराजको पूजा गरेपछि सुरुआत भएको मानिन्छ । ‘यमुना’ र ‘यमराज’ समयको प्रतीक हो । याम भन्ने नेपाली शब्दबाट यो प्रष्टिन्छ । मृत्यु भएर प्रेतलोकमा गएकालाई पितृलोकमा फर्काउन र बाँचेकाको दीर्घ जीवन होस् भन्ने भावनामा यमुनाले कालरूपि यमराजको पूजा गरेकी हुन् ।  दसैँमा पशु बलि दिइन्छ भने तिहारमा पशुपञ्छीको पूजा गरिन्छ । मानव र पशुपञ्छीवीचको सहअस्तित्वको महत्व यसले झल्काउँछ । फूल फुल्ने मौसम, खेतमा पाकेका धान र शारदीय मौसमले केटाकेटीदेखि वृद्घवद्घासम्म सबैको मन रमाएको हुन्छ । त्यसमाथि झिलिमिली बत्ती, पिङ, देउसी र भैलीका गीतले सबैलाई उत्साहित पारेको छुन्छ । वास्तवमा पूजाआजाभन्दा पनि देउसी र भैलीका कारण यो चाड केटाकेटी र युवायुवतीमाझ प्रिय बन्दै गइरहेको छ । देउसी–भैली भट्याउने परंपराले बालबालिकामा अरूको अगाडि निर्भिक र निसङ्कोच बोल्न र आत्मविश्वास बढाउन सहयोग गर्दछ । झन् त्यसमाथि आजकाल मादल, गितार र ड्रमसेटको तालमा नाच्ने, गाउने गर्दा उनीहरूमा लुकेर बसेको प्रतिभाको विकास गराउँछ । यस दिनको लागि भनी कति केटाकेटीहरू कैयौँ दिन लगाएर अभ्यास गरिरहेका हुन्छन् । यही क्रियामा उनीहरूलाई हौसला दिने तत्व भनेको घरवेटीहरूले दिने मायाको साथमा दक्षिणा हो ।  पहिलापहिला भैली केटीले मात्रै खेल्ने र देउसी केटाले मात्रै भनी पालो छुट्ट्याइएको थियो । पालो मिचेर आउने केटा या केटीलाई खालि हात फर्काइन्थ्यो । आजकाल केटा र केटीको संयुक्त समूह बनाइ दुबै दिन निसङ्कोच खेलिने र घरवेटीले पनि खुसीसाथ दान दिने देखिन्छ । यस खेलमा हिन्दुमात्रै नभइ बौद्घ, इस्लाम तथा क्रिश्चियन बालबालिकाको पनि सहभागिता भेटिन्छ भने हिन्दुबाहेकका धेरै धर्मावलम्वीहरूले पनि खुलेर दान दक्षिण गरेका हुन्छन् । यस रमाइलो चाडमा केही वेथिति नभित्रिएका भने होइनन् । राति अबेरसम्म खेलिनु, तामझाममा भड्किलो खर्च गरिनु, मासु मदिरा सेवन गरी आपसमा झगडा हुनु, कानुनले बर्जित गरेका पटाका पड्काइनु जस्ता पक्षमा सम्बद्घ सबैले ध्यान दिनुपर्ने अवस्था आएको छ ।  दसैँलाई हिन्दु नेपालीले मात्रै महत्व दिए पनि तिहारलाई सबै धर्मावलम्वीले साथ दिएका पाइन्छ । यस अर्थमा तिहारलाई नेपालकै साझा चाड भनिएमा सायदै अस्वीकृत नहोला । अन्त्यमा यस कार्तिक महिनामा पर्न गएका दीपावली, नेपाल संवत, छठ, हलोइन चाडहरूको उपलक्षमा सम्पूर्ण पाठकवर्गहरूमा यस सुलेख परिवारको हार्दिक मङ्गलमय शुभकामना !

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments