‘आफ्नो जन्मस्थान र त्यसको परिवेश नै अन्ततः सिर्जनाका प्रेरक स्रोत हुन् ।’ यो कुरा कसैले लेखिदियो । स्वीकार नगर्नु पर्ने कुनै कारण नहुन पनि सक्छ । यथार्थमा त्यही परिवेशको स्मृति शृङ्खालाले नै भोलिका लागि राम्रा कृति सिर्जना गर्दछन् । भनिन्छ– सिर्जनाका लागि प्रेरणा चाहिन्छ र प्रेरणा सतही हुनुभन्दा घोच्ने, पोल्ने, दुख्ने र चर्किने प्रकृतिका भए भने उचाइ र गहिराइका तरङ्ग मापन गर्न सक्दछन् । यहाँ यतिखेर हिमाली, पहाडी, ग्रामीण र सहरी जीवनका संयोग सममूल्यन गर्न लाग्दा हिमाली जनजीवन अत्यन्त कष्टकर भएर पनि कृतिका रूप ग्रहण गर्न नसक्नुमा देखापरेका एक दुईवटा
विशेष कारण हामी सबैले स्वीकार गर्नुपर्दछ । अलि फरक परिवेशमा पहाडी र ग्रामीण जनजीविकामा उत्पन्न सङ्कटहरू हामीले पढ्दै र सुन्दै आएका हृदयस्पर्शी वर्णनहरूभित्र पर्दछन् । यहाँ भनिए जस्तै हृदयस्पर्शी वर्णनहरूको प्रेरणास्रोत पनि त्यही घोचाइ र दुखाइ नै हो । यथार्थलाई अति वर्णनका आवश्यकता पर्दैनन् । ती सत्य प्रसङ्गहरू नै सुहाउँदा हुन्छन् । पहाडी तथा ग्रामीण जीवनले भोगेका उकाली ओरालीका गाथाहरूले हामी सबैलाई छोएको हुन्छ । त्योभन्दा बढी साँघुरा गौँडा गल्छेडा, भिराला डिल र पाखा, खल्याङमल्याङका घुमाउरा गोरेटाहरू, खोल्सा र खोला, दह र झर्ना अनि टाढा देखिने हिउँ र हिमाल हेर्दै हुर्के बढेका जीवनलाई प्रकृतिस्थ आँगनमा राखेर सम्झँदा बेग्लाबेग्लै आनन्दानुभूति भइसकेका हुन्छन् । यस्तै परिवेशभित्र स्थापित समाजका सुख र दुःख, खुसी र वेदना, तृप्ति र तिर्खा, खजाना र भोक त्यसै गरी त्यस समाजले सहेको सद्भाव र शोषण प्रेम र घृणा, आदर र तिरस्कारका सन्तुलन र द्वन्द्वहरूबाट प्रभावित मनबाट उब्जने तरङ्गले सुन्दरतम् कला कृतिको रूपधारण गर्दा स्रष्टाले आनन्दानुभूति गर्नु र पाठक त्यसैमा आकर्षित हुनु यसका सकारात्मक अवस्था हुन् । यसपछि एउटा रहस्यपूर्ण
सन्दर्भ– स्मरणीय बाल्यावस्था र स्वीकारयोग्य आफ्नै अतीतले कला, साहित्य सिर्जनामा घचघच्याउँछन् अथवा गुम्सिरहेका भावनाले प्रष्फुटनका निकास खोजिरहेका हुन्छन् । संयोग सुखद होस् वा दुःखद् अभिव्यक्तिमा आँसु बग्छन् अथवा समस्त पीडाहरू मुटुमै भक्कानिन थाल्दछन् – यही हो कला, साहित्य सिर्जनाको यात्रा आरम्भ । यतिखेर यहाँ यसो भनिरहँदा यी प्रसङ्गहरू सबै मिल्लान् वा छेउ कुना मात्र छोलान् जे होलान् केही हदसम्म दुरुस्त रहलान् । यही आसयमा स्रष्टा प्रभा भट्टराईको स्रष्टा परिचय लेख्न खोजिएको छ ।
पिता नारायणदत्त शास्त्री र माता मिठ्ठू आचार्यका सुपुत्रीका रूपमा वि.सं. २०२२ कात्तिक १६ का दिन चँुदी रम्घा, तनहँुमा प्रभा भट्टराई (आचार्य) को जन्म भयो । हाल उनी भीमसेन थापा मार्ग–१०२, ताहाचल, वडा नं. १३, काठमाडौँमा छोरी सम्पदा र छोरा सत्येन्द्रका साथ पारिवारिक जीवन बिताउँदै छिन् ।
वि.सं. २०४६ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरी हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक भई प्राध्यापन गरिरहेकी प्रभा भट्टराईले भारत तथा चीनका सीमावर्ती ठाउँ र नेपालका अधिकांश जिल्लाहरूमा भ्रमण गरेकी छन् ।
शिक्षित एवं उच्च कुलीन परिवारका जन्मेकी प्रभा भट्टराई (आचार्य) लाई आफ्नो व्यक्तित्व निर्माणका लागि त्यति सङ्घर्ष गर्नु नपरेको बुझिन्छ । हुन पनि शिक्षा, सङ्गत, पारिवारिक वातावरण तथा उनको आफ्नै तीक्ष्णताका कारण उनको जीवनउत्थान सहज बनेको अनुभव हुन्छ । सुशिक्षा र शिक्षित अभिभावकका मार्ग निर्देशन प्रभाका लागि उपयोगी अवसर बन्यो । यसैगरी अनुशासित र मर्यादित उनका जीवनयात्राले उनी स्वयम्लाई धैर्यशील र जीवनबोध गर्ने पाठ सिकाइरह्यो । यसले गर्दा उनीलाई आफ्ना कर्म र कर्तव्यबारे सधैँ सचेत र क्रियाशील रहँदै सामाजिक, शैक्षिक एवम् साहित्यिक सेवामा निरन्तरता दिन अनुकूल वातावरण बन्यो । यसरी निरन्तर यस्तै सेवा र समर्पण गर्दै आएको प्रभावलाई कार्यका उचित मूल्याङ्कन भए । जस अनुरूप उनले यस प्रकारका पुरस्कार सम्मान तथा कदरपत्रहरू प्राप्त गर्दै आएकी छन् । ती पुरस्कार र पदकहरूमा मुख्य– अर्जुन स्वर्ण पदक (२०४२, स्नातक नेपाली रचना परीक्षामा प्रथम स्थान प्राप्त गरेकोमा त्रिभुवन विश्वविद्यालयबाट), ललिता काव्य पुरस्कार र पदक (२०५१, तृतीय राष्ट्रिय कविता महोत्सवमा सीताराम साहित्यिक प्रतिष्ठानद्वारा), गाउँ सेवा सम्मान (२०५८, गाउँ सेवा कोष तनहुँ), लेखनाथ काव्य पुरस्कार (२०६७, शास्त्रीय छन्दकविताको रचना एवं छन्दकाव्यको प्रचार अभियानमा विशिष्ट योगदान गरेबापत त्रिमूर्ति निकेतनद्वारा), प्रशंसा–पत्र (२०६८ ÷२०६९, विद्यालयले आयोजना गरेको वसन्त काव्यगोष्ठीमा उत्कृष्ट कविता वाचन गरी स्रोताहरूको निर्णयबाट उत्कृष्ट ठहरिएकोमा दीपज्योति शैक्षिक प्रतिष्ठान प्रा.लि.द्वारा), सगरमाथा वाङ्मय प्रतिष्ठान पद्महरि पुरस्कार (२०६९, नेपाली भाषा साहित्यमा विशिष्ट योगदान गरेबापत सगरमाथा वाङ्मय प्रतिष्ठानद्वारा), प्रेमदत्त–गोमा त्रिपाठी स्मृति साहित्य सम्मान पुरस्कार (२०६९, नेपाली छन्दोबद्ध कवितामा नवगतिशीलता र विशिष्टताका साथै साहित्यका प्रवर्धनका निम्ति निरन्तर साधनारत रही विशिष्ट योगदान गरेबापत प्रेमदत्त–गोमा त्रिपाठी स्मृति प्रतिष्ठानद्वारा), अभिनन्दन (२०७०, शास्त्रीय छन्दकविताको रचना एवं वाचनमा विशिष्ट योगदन गरेबापत ज्ञानदीप शिक्षा सदन, काठमाडौँद्वारा), ब्mदबककबमयच ायच एभबअभ ९द्दण्ज्ञद्द ब्।म्। , ग्लष्खभचकब िएभबअभ ँभमभचबतष्यल०, देवकोटा काव्यिक सम्मान
(२०७३, नेपाल सांस्कृतिक सङ्घ) आदि रहेका छन् ।
स्रष्टा प्रभा भट्टराईका प्रकाशित कृतिहरूमा– पोसिला कविता (२०६०, बाल कविता सङ्ग्रह), मेरो सानो भाइ (२०६०, बाल कविता सङ्ग्रह), सन्तु र सुगा (२०६१, बाल कथा सङ्ग्रह), गीता पापा (२०६४, बाल काव्य), शारदा अधिकारी (जीवनी)
(२०६७), सरित्–सङ्गम (२०६८, छन्दोबद्ध कविता सङ्ग्रह), सुनकेसरी मैयाँ (२०६९,
बाल काव्य), आदि रहेका छन् भने २०३३ सालदेखि समसामयिक एवं साहित्यसम्बन्धी लेख, समालोचना, छन्दोबद्ध कविता, गीत, निबन्ध, कथा एवं बालकथा, बालकविता, अनुसन्धानात्मक लेख, राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा निरन्तर रूपमा प्रकाशित भइरहेका छन् । यसका अलावा नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र एवं अन्य निजी प्रकाशनहरूद्वारा समेत विद्यालयस्तरीय विभिन्न कक्षाका पाठ्य–पुस्तक एवं सन्दर्भ–पुस्तकहरूमा रचनाहरू प्रकाशित भएका छन् । यससँगसँगै उनका– चरी बन्न पाए (बाल गीत सङ्ग्रह) र नेपाली नाटकका क्षेत्रमा नारायणदत्त शास्त्रीको योगदान (अनुसन्धानात्मक कृति) नामक कृति प्रकाशोन्मुख रूपमा रहेका छन् ।
उनले नेपाली वाङ्मय प्रतिष्ठान (सदस्य, काठमाडौँ), नेपाल बाल साहित्य समाज (आजीवन सदस्य), भानु प्रतिष्ठान (सदस्य), कोकगोष्ठी (कोठे कविगोष्ठी) परिवार
(सदस्य) मा रही उल्लेखनीय कार्य सम्पादन गरिसकेकी छन् ।
पिता श्री नारायणदत्त शास्त्री नोकरी पेसामा संलग्न भई कार्य गर्दा विभिन्न जिल्लाहरूमा पुगेको र बन्दीपुरमा जन्मिई पर्वत र भैरहवामा आठ वर्षको उमेरमा ३ कक्षा पढी तनहुँमा नै फर्केर माध्यमिक तहको शिक्षा पूरा गरी निर्विघ्न उच्च शिक्षा हासिल गरेकी प्रभाको तीक्ष्ण बुद्धिले स्वध्यायन लगायत लेखनकार्यमा पनि सक्रियता पाइरह्यो । पिता नारायण शास्त्री कवि कलाकार हुनुले प्रभामा यसको यथेष्ट प्रभाव जम्यो । आफ्नो बाल्यकालको तोतेबोलीसँगै कविताका स्वर र लय सुन्दै आएकी उनलाई कविता खेलौना तथा विनोदका रूपमा रहन थाल्यो । कुराकानी नै कवितामा गर्ने क्षमताका पिता नारायण शास्त्रीबाटै प्रेरित प्रभावित प्रभाका कोमल मनमा पहाडी भेगका डाँडाकाँडा, खोला खोल्सा, पीर भन्ज्याङ, दग, झर्ना, अनि हिमालय र हिउँ लगायतका भूप्राकृतिक दृश्यले कविता सिर्जनाका लागि घचघच्याइरहे । यसकै सार्थक रूपमा उनी समकालीन छन्द कविताका अग्रपङ्क्तिमा र सोही विधा अन्तर्गतको नारी स्रष्टाको उच्च स्थानमा पुगेकी प्रभा भट्टराईका २०३३ सालदेखि रचना प्रकाशन हुन थालेको बुझिन्छ । सर्वप्रथम बालक पत्रिकामा प्रकाशित लोकछन्दको ‘नेपाल आमा’ शीर्षकको कविता नै प्रभाका पहिलो सिर्जनाको रूपमा रही त्यही नै उद्देश्य र उत्साह बन्यो । डा. जयराज आचार्य, कवि दैवज्ञराज न्यौपाने, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका स्रष्टाहरूको सामीप्य पाएकी प्रभाका शास्त्रीय छन्द कविता अझै परिष्कृत र प्रखर बन्यो । त्योभन्दा बढी उनको आफ्नो जीवनसाथी सुरेन्द्रराज भट्टराई कलाका मर्मज्ञ हुनु र साहित्यका अनन्य उपासक हुँदा प्रभाका यस साधनाका लागि थप सहयोग प्राप्त हुँदै थियो । वि.सं. २०६४ मा उनीसँगका अपूरणीय दुःखद् वियोगले प्रभा भट्टराईलाई अत्यन्त मर्माहत बनायो तापनि जीवनजगत्लाई राम्ररी बुझेकी प्रभाका लागि धैर्यता नै बुद्धिमानी थियो –उनले त्यसै गरिन् र सिर्जनालाई निरन्तरता दिइरहिन् ।
स्रष्टा प्रभा भट्टराई (आचार्य) ले बालसाहित्यका क्षेत्रमा पु¥याएको योगदान पनि उल्लेखनीय छ । यसको अलावा जीवनी, समालोचना, निबन्ध लगायतका विधामा कलम चलाउँदै आएकी स्रष्टा प्रभा भट्टराई शास्त्रीय छन्द कविताका क्षेत्रमा चर्चित व्यक्तित्व हुन् । प्रकृतिका बिम्बमा मानवीय दुःख पीडा अभिव्यक्त गर्ने उनको काव्यशिला उच्चकोटिको देखापर्दछ । सामान्य वस्तुको उठानबाट गहनतम सम्प्रेषण गर्नु र प्रकृति जीवनका तादात्म्य स्वरूपलाई अभिव्यञ्जित आरोहमा प्रकट गर्नु उनको प्रशंसनीय सीपको सम्मान गर्नुपर्दछ । रक्तरञ्जित प्रकृतिमा उनको मानवीय विद्रोहले अर्को आन्दोलन सुरु गर्दछ, सम्भवतः उनी क्रान्तिकारी कवि बन्दछिन् । सत्य कुरा यही हो, प्रभाका भावनामा उही पवित्र राष्ट्रियता छ । शालीन देशभक्ति छ । अनि अर्को एउटा सर्वजनीन आत्मभावना छ । अरू जेसुकै होस्, शोषण, अत्याचार र अन्याय कुनै पनि स्रष्टाले खप्न र सहन सक्दैन । त्यसैले पनि हो, स्वतन्त्रता र उन्मुक्तिका लागि अभियान चलाउने उनका सिर्जनामा विश्वबन्धुत्वका भावना र सलबलाउँछन् । सभ्य, सुसंस्कृत, अनुशासित, मर्यादित र शान्त समाज निर्माणका लागि जागरण बनेका उनका सिर्जना कालजयी छन् । पृथ्वीको माटोदेखि अन्तरिक्षका तारासम्मका सौरम्य स्पन्दनहरू भेटिने उनका सिर्जनामा त्यसै पनि उच्चकोटिका प्रवाह छन् भनेर स्वीकार गरिसकिएको छ । उनका कवितामा जतासुकै वसन्तका कोइलीले आफ्नो गला सुनाइरहेको अनुभव हुन्छ । नेपाली भाषा साहित्यको होनहार नारी हस्ताक्षर प्रभा भट्टराई (आचार्य) का अझै उत्कृष्ट सिर्जनाहरू प्रकाशित भइरहून् । शुभकामना ¤ द्घ
गोकर्णेश्वर न.पा. –१५, बेँसीगाउँ, काठमाडौँ
मो. ९८४१२५६९८२

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments