एउटा कार्यक्रममा जमघट भएका मेरै बैङ्कका स्टाफलाई मेरो हास्यव्यङ्ग्यको कृति आफ्नै झ्याइँकुटी बेच्न पुगेँ । मैले सो कृति देखाउँदै भनेँ– “तपाईंले यो किनिदिनुभयो भने मिर्गौलाका बिरामीलाई सहयोग हुने थियो, गत वर्ष तीन जना बिरामीलाई तीस हजार सहयोग गरेँ, यसपालि पनि गर्दैछु, किताब किनेर सहयोग गर्न त्यहाँ उपस्थितहरूलाई मैले एकमुष्ट प्रस्ताव राखेँ ।”
उपस्थितहरूमध्ये एक जना महिला स्टाफले हातमा किताब लिएर सत्रचोटि पल्टाउने अनि बन्द गर्ने, फेरि हेर्ने काम धेरैबेर गरिरहनुभयो । म ठिङ्ग उभेर यो सब चर्तिकला हेरिरहेको थिएँ । अन्तिममा उहाँले भन्नुभयो– “मेरो त किताब पढ्ने बानी नै छैन, किताब पढ्यो कि झुपुझुपु निद्रा मात्र लाग्छ । भैगो किताब राख्नुस् ¤” मैले उहाँको कुरालाई समाउँदै भने– “एक त तपाईंको उमेर पचास कटिसक्यो, त्यसै पनि त निद्रा लाग्दैन । त्यसमाथि मेरो हँसाउने किताब पढेर निद्रा लाग्यो भने त झन् खास्सा भैगो नि त ¤ एक पन्थ दो काज ¤ किताब पढ्दा निद्रा उपहार । तपाईंले उल्टो मलाई निद्राको औषधी दिए बापत पैसा पो तिर्नुपर्ने भो । यस्तो अचुक औषधी अन्त कहाँ पाइन्छ ।” मेरो कुरा सुनेर जमघटमा सहभागी भएकाहरू सबै दिल खोलेर हाँसे । मेरो किताब किनेर पढेका अन्य स्टाफहरूले किताबको प्रसङ्ग झिक्दै यस्तो छ र उस्तो छ भनेर कथाव्यथा सुनाउन थाले । पछि उनै स्टाफले महिला स्टाफलाई किनेर सहयोग गर्न कर गरेँ । मुटुमा गाँठो पारेर उहाँले किताबको मोल चुकाउनुभयो ।
हुम्ला जिल्ला जस्तो विकट ठाउँको निम्ति म लुगाफाटा, पुस्तक सङ्कलन गर्ने क्रममा उनै महिला स्टाफको घरमा केही दिनपछि पुगेको थिए । उहाँ मलाई देख्ने बित्तिकै एकदमै खुसी हुँदै हाँसिरहनुभयो । कुराकानीको सिलसिलामा हुँदाहुँदा त हाँस्दै मेरै किताबभित्रको कथाव्यथा पो सुनाउन थाल्नुभयो– “तपाईंले भनेको पत्याएँ, त्यो दिन यो किताब नलिएको भए म कहाँ हाँस्न पाउँथेँ । म मात्रै कहाँ हो र ¤ श्रीमान् पनि हाँसेको हाँस्यै ।” मैले उहाँको कुरा सुनिरहेँ, मैले थप हाँस्नलाई साथ दिइरहेँ ।द्घ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments