“सासू पनि आमा सरह नै हुन् । उनलाई आमाको जस्तै सम्मान र आदर

गर्नुपर्छ । यो कुरो सबै बुहरीहरूलाई थाहा हुनुपर्ने हो । बुहारीहरू पनि घरको गृह लक्ष्मी हुन् । छोरी सरह हुन् । यिनलाई पनि छोरीलाई जस्तै माया र ममता दिनुपर्छ । यो कुरो पनि सबै सासुहरूलाई थाहा हुनुपर्ने

हो । तर यति पनि थाहा नहुँदा अथवा भनौँ थाहा भएर पनि मानिस अज्ञानी बनिदिँदा समस्या झन् जटिल हुँदै गइरहेको छ, सासु बुहारीबीचको यो पबित्र सम्बन्धमा । सानोतिनो होची अर्गेली त जसको पनि हुन्छा नि … ¤”

नभनौँ नभनौँ भन्दा पनि रामजी बाजेका पेटमै अडिएनन् यी कुरा र प्याच्च भन्दिए सासू बुहारीकै अगाडि । उनको छिमेकमा यी दुई सासू बुहारीबीच भनाभन नभएको दिने हुँदैनथ्यो । कहिलेकाहीँ त यसले निकै उग्र रूप पनि लिन्थ्यो । आजको झगडाले पनि निकै उग्र रूप लिएको कारण बुहारी चाहिँ आफ्नो कुम्लो कुटुरो बोकेर रिस देखाउँदै माइततिर लागिन् । यस्तो क्रम अघिपछि

पनि हुने गर्दथ्यो । जब रिस मथ्र्यो अनि फर्कन्थिन् । यो यौटा स्वाभाविक प्रक्रिया जस्तै भइसकेको थियो । तर आज माइत जाँदा भने उनलाई रामजी बाजेको कुराले कता कता छोएको जस्तो लागिरहेको थियो । बाटाभरि रामजी बाजेकै कुरा कानमा गुन्जिरह्यो ।

उनी माइत पुग्दा माइतमा पनि निकै हल्लीखल्ली भइरहेको रहेछ । आफ्नी आमा र भाउजू ‘को भन्दा को कम’को शैलीमा बाजाबाज गरिरहेका रहेछन् । भाउजूले

आफ्नी आमालाई मुखमुखै लागेको देखेर उनको साह्रै चित्त दुख्यो । तत्कालै उनले सोचिन् –“मैले पनि त यसरी सासूसँग मुखमुखै लाग्दा नन्द आमाजूको चित्त यसैगरी दुख्दो हो ।” अनि उनी झसङ्ग भइन् । रामजी बाजेका कुरा झन् ताजा भएर आयो यतिखेर उनको मानसपटलमा । र आफ्नो बोलीमा रामजी बाजेको कुरा जस्ताको तस्तै बोलिन् आफ्नी आमा र भाउजूको सामु । त्यसपछि झगडा सामसुम भयो । आमा चिया पकाउने तरखर गर्न थाल्नुभयो । भाउजू पुनः कुचो समातेर सरसफाइलाई निरन्तरता दिन थालिन् । चिया पाक्यो । सबै मिलेर चिया खाजा खाए । त्यतिन्जेलसम्म झगडा पनि सामसुम भइसकेको थियो । वास्तवमा उनी रिसाएर माइत आएकी थिइन् केही दिन बस्ने निधो गरेर । तर संयोग झगडा मिलाउन आइपुगे झैँ भयो । केही दिन सासुको मुखै नहेर्ने निर्णय गरेर माइत आएकी उनी लगत्तै घर फर्किन हतारिइन् । उनलाई कतिखेर सासुको मुख देखुँ जस्तो हुन थालेको थियो । आफ्नी आमाको अनुहार सासू आमामा देख्न थालेकी थिइन् । घर फर्कंदा आफूभित्रको आफूलाई ब्युझाइ दिएकोमा बाटाभरि रामजी बाजेलाई मनमनै धन्यवाद पनि दिइरहेकी थिइन् उनी । द्घ

– आलापोट, काठमाडौँ

मो. ९८४११९७७८०

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments