सुरक्षित र उनकी आमा मामाघर बालकुमारीबाट घर फर्कँदै थिए । छ वर्षको सुरक्षित हातले इसारा गरेर ट्याम्पो रोकेर आमाभन्दा अगाडि ट्याम्पो चढे । दुई सिट खाली नै भएकोले उनी आनन्दले सिटमा बसे । आमाले सुरक्षिततिर हेर्दै भनिन् – “बाबु सुरक्षित मान्छे आएपछि उठिदेऊ है बाबु ¤”
सुरक्षितले हतारहतार जवाफ दिए – “म पनि मान्छे हुँ क्या ¤”
सुरक्षितको कुरा सुनेर ट्याम्पोमा भएका यात्रीहरू सबै मुसुमुसु हाँसे । अगाडिदेखि नै आमाको काखमा बसेकी सात वर्षकी गृष्माले आमाको काखबाट ओर्लिंदै सिटमा बसेर भनिन् – “म पनि मान्छे हुँ । म पनि सिटमा बस्छु ।” उनको कुरा सुनेर सबै मरीमरी हाँसे । गृष्माकी आमाले गृष्माको पाखुरा तान्दै भनिन् – “यहाँ ठूलो मान्छे पो बस्नुपर्छ । ”
ड्राइभरले रिसाउँदै अलि ठूलो स्वरमा भने – “बच्चाहरूलाई काखमा राख्ने कि सिटको पैसा दिने ?”
गृष्माकी आमाले गृष्मालाई तान्दै भनिन् “यत्राको पनि कसैले पैसा दिन्छ ? आऊ नानी ¤”
सुरक्षितले पेन्टको गोजीबाट पचास रूपैयाँको नोट झिकेर दिँदै भने – “लाउनुहोस् उनको र मेरो पैसा हामी सिटमै बस्ने । ”
ड्राइभर चुपचाप लाग्यो । बालकुमारीदेखि मीनभवनसम्म आइपुग्दासम्म सबै हाँसिरहेका थिए । सुरक्षितले पैसा दिएपछि सबैका आँखा टम्म भएर रसाए । सुरक्षितकी आमाले लामो श्वास तानेर सुरक्षिततिर हेर्दै भनिन्– “तिम्रो पैसा राख म नै पैसा दिन्छु ।”
गृष्माकी आमाले पनि पैसा झिक्दै भनिन् – “बाबु गृष्माको पैसा म दिन्छु ।”
ट्याम्पोमा बस्ने सबैको ओठमा हाँसो छरियो ।
गृष्माले सुरक्षिततिर हेर्दै भनिन् – “सिटमा बस्न त क्या मज्जा हुँदोरहेछ हगि साथी ? हेरन ममीको काखमा बस्न कस्तो गाह्रो भएको थियो । ममीले कहिले सिटमा बस्न दिने होइन । हामी पनि मान्छे त हो नि हैन ?”
गृष्माले कुरा गर्दागर्दै माइतीघर आयो । सुरक्षित ओर्लिंदा सबैले बाईबाई भने । सुरक्षित पनि सबैलाई बाई भन्दै आमासँग ओर्लिए । गृष्मा र यात्रीहरूले नै सुरक्षितलाई टाढा नपुगुन्जेलसम्म हेरिरहेका थिए ।द्घ
मो. ९८४१८९०२६६

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments