सहाराले रूखतिर हेरिन् । उनलाई धेरै रिस उठ्यो । त्यो रूखमा चढेर पूmलको रस चुसिरहने माइलीलाई ढुङ्गाले हिर्काइदिऊँ जस्तो लाग्यो । तर त्यसो गरिहाल्न उनको मनले मानेन । निकैबेरसम्म डेरो आँखा पारेर रिसैले हेरिरहिन् । रिस गरेर हुनेवाला केही छैन भन्ने कुरा उनको मनले नै भन्यो । “के गर्ने त ?” फेरि मनले सोध्यो । उनले यताउता, वरपर आँखा डुलाइन् ।

बाटोको दुवै किनारामा काइँयो पूmल पहेंलै भएर फुलेका थिए । अहँ चढ्न सक्ने एउटा पनि रूख थिएनन् । “यही एउटा रूख थियो चढ्न सक्ने । त्यही पनि यो माइली आएर चढिसकिछे । कहीँ नभएकी छुच्ची ¤ अस्ति यसले ढुङ्गाले हानेर अनितालाई

टाउको मै घाउ बनाइदिएकी थिई । त्यति मात्र हो र ? विशालको सर्ट पनि च्यातिदिई । योसँग नबोल्ने भनेर हामीले त्यही दिन भनेका थियौँ । नबोल्ने केटी चढेको रूखमा के चढ्नु ? त्यही पनि यस्ती छुच्ची चढेको रूखमा । सहाराले रूखतिर हेरिन् । उनलाई धेरै रिस उठ्यो । त्यो रूखमा चढेर पूmलको रस चुसिरहने माइलीलाई देखेर सहाराले अस्तिको घटना सम्झिई । माइली देखेर झनै रिस उठ्यो ।

‘तर पूmलको रस खान आएको मान्छे । नखाइकन फर्कने त ? पूmलको रस नखाईकन फर्किएको देखी भने त यो छुच्ची कति

हाँस्ली ? जसरी पनि मैले पूmलको रस खानु पर्छ ।” सहाराले अर्को रूखमा जसरी पनि चढ्ने निधो गरिन् । अर्को रूखको फेदसम्म गइन् । चढ्नको लागि कोसिस गरिन् । अहँ सक्ने भए पो ?

यसो माथितिर हेरिन् । रूख निकै अग्लो र अप्ठेरो खालको लाग्यो । रूखका पूmलमा माहुरी र पुतलीहरू घुमिरहेका थिए । “मेरो पनि यी माहुरी र पुतलीहरूको जस्तै पखेटा भएको भए । म पनि यसरी नै उडेर पूmलको रस चुस्न जान्थें ।” उनले आफ्नो दुवै हात, पखेटामा परिणत भएको महसुस गरिन् । उड्दै उड्दै पूmल भएको ठाउँमा गइन् । मजाले पूmल टिप्दै चुस्न थालिन् ।

ढ्वाँ… एउटा डम्फर कराएको आवाजले पो उनी झसङ्ग भइन् । उनी त कहाँ पूmल चुस्न पुग्नु ? रूखको फेदमै पो थिइन् । यसो डम्फरतिर आँखा लगाइन् । पछाडिपट्टि टन्न गिटी बोकेर, उकालो बाटोमा सकिनसकि चढ्दै रहेछ । पुतुतुतुतुतुतु धुवाँ फाल्दै ढ्वीइँ..ढ्वाँ…ढ्वाँ…ढ्वीइँ…गर्दै बाटो छिचोल्न खोज्दै रहेछ डम्फर । “मलाई रूखमा चढ्न गाह्रो भएको जस्तो यसलाई पनि उकालो चढ्न गाह्रो भएको हो क्या रे ¤” डम्फरलाई हेर्दै सम्झिइन् ।

उनी फेरि त्यही अघिको रूखमा आइन् । माइली पूmल टिप्दै मजाले पूmलको रस चुसिरहेकी थिइन् । “यति धेरै रूखहरूमा यही एउटा छ भन्या सजिलो रूख । यसैमा आएर चढी सकिछे छुच्ची ।” माइली देखेर फेरि रिसाइन् उनी ।

‘यही रूखको अर्को हाँगामा चढ्नु पर्ला क्यारे ।” यसो विचार गरिन् “त्यो हाँगा पनि असजिलो छ । सजिलो हाँगामा त छुच्ची छे के गर्नु ? फेरि रूख चढेको बेलामा नबोल्ने केटी भनेर रूखैबाट खसाइदिई भनी ¤ यो छुच्चीको त के भर ? बलिई पनि छे ।” यताउता आँखा डुलाइन् । “तर मलाई किन यसले रूखबाट खसाइदेली र ? मैले यसलाई केही गरेको छैन क्यार । त्यही दिन अलि अलि झगडा परेको मात्र त हो नि ¤ अनिता र विशालले यसलाई जिस्काएको भएर पो यसले त्यस्तो गरेकी । त्यही दिनदेखि हामी कोही पनि योसँग नबोल्ने भनेर हाम्रा सबै साथीहरू नबोलेको हो । आ अर्को हाँगापट्टि चढ्छु ।” सहारा रूख चढ्न थाली ।

अर्कोपट्टिको हाँगा धेरै असजिलो थियो । सकिनसकी हाँगाको माथिसम्म पुगिन् । एउटा पनि पूmल उनले टिप्न सक्ने ठाउँमा थिएन । कहिले यतापट्टिको, कहिले उतापट्टिको पूmल टिप्नलाई धेरै कोसिस गरिन् । अहँ सक्दै सकिनन् । “अलि माथि गएर टिप्नुप¥यो ।” उनी अलि माथि उक्लिन खोजेकी थिइन् । लौ जा, न उनी माथि जान सकिन् । न तल नै ओर्लन सकिन् । के गर्ने ? कसो गर्ने ? आपत् प¥यो । रूखबाट लड्छु भन्ने पक्का भइसक्यो सहारालाई । न माइलीले सहयोग गर्न आउँछे कि ? भन्ने पनि लाग्यो । तर अहँ माइली त आफ्नै सुरमा पूmलको रस चुसेर रमाइरहेकी थिई । “कस्ती छुच्ची केटी । यस्ती केटी त कहिले पनि देखेको थिइनँ मैले त । त्यो पनि रूखमा अड्किदिए पनि हुन्थ्यो ।” सहाराले यतिसम्म सोचिन् “बरु त्यो चाहिँ रूखबाट लडे पनि क्या मज्जा आउँथ्यो । म चाहिँ ओर्लिन सकौँ ।” सोच्दा सोच्दै उनी लड्नै लागिन् । “आमा हो…’ उनी ग्वाँ… आवाज निकालेर रोइन् ।

माइलीले सहारालाई पुलुक्क हेरिन् । “सहारा त लड्नै पो लागिछिन् ।” हत्तार हत्तार सहारा भएकोतिर गइन् “यस्तो अप्ठेरो हाँगामा पनि चढ्ने हो ? म तिमीभन्दा अलि रूख चढ्न सक्छु । मलाई त कति गाह्रो लाग्छ यो हाँगामा चढ्न ।” उनले सहारालाई बिस्तार गोडा तल झार्न भनी । “लौ मैले हात राखेर खुट्किलो जस्तो बनाइदिएको छु । यहीँ टेक । अनि उ त्यो हाँगामा समाऊ । ल आऊ आऊ, नडराइकन आऊ त ।”

जसो जसो माइलीले भनिन् । त्यसै गरेर सहारा त्यो हाँगाबाट ओर्लिइन् ।

“त्यस्तो अप्ठेरो हाँगामा पनि चढ्ने हो ?

आऊ यही हागाँमा । यहाँ हेर त कति धेरै पूmलहरू छन् ।” माइलीले एउटा पूmल टिपेर सहारालाई दिइन् ।

‘नबोल्ने केटीले दिएको । लिऊँ कि नलिऊँ ?” उनी दोधारमा परिन् ।

‘समाऊ समाऊ, म अर्को पूmल टिप्छु के ।” माइलीले कर गरिन् । सहाराले त्यो पूmल समाइन् । माइलीले अर्को पनि पूmल टिपेर सहारालाई दिइन् । सहारा पूmल समाउँदै माइलीतिर हेरिरहिन् ।

‘के हेरेको ? खाऊ त कति गुलियो छ । कति धेरै रस छ बाबै यी पूmलमा ।” अर्को पूmलतिर हात लम्काउँदै बोली माइली ।

‘नबोल्ने केटीलाई पनि यस्तो माया गर्छे यो माइली ।” सहाराले त्यो दिनको घटना सम्झिइन् “आमाबाउ नभएकी, अर्काकी घरमा काम गर्ने, झुत्री खै के के भनेर जिस्काएकोले त हो नि माइलीले त्यसो गरेकी । नत्र त माइलीले के नै पो भनेकी थिई र ? अझ विशालले त माइलीको किताब नै खोसेर फालिदिएको थियो ।” सहाराले सोच्दा सोच्दै माइलीले अर्को पूmल पनि दिदैं भनिन् “खाऊ न सहारा । अलि माथि आऊ त । तिमी आफैले पूmल टिप्न सक्छौ ।” सहाराको हातमा समाएर अलि माथि तानिन् माइलीले । सहारा अलि माथि गइन् ।

माइलीले पूmल फुलेको हाँगा सहारातिर लर्काइन् । “त्यो टुप्पा टुप्पाको पूmल टिप त सहारा । अघि म एक्लै भएकोले टिप्नै सकेको थिइनँ । अब तिमी पनि आयौँ । हामी धेरै पूmल टिपेर साथीहरूलाई पनि बाँड्नु लानु पर्छ है ?” माइलीले भन्दा नभन्दै सहाराले पूmल टिप्न सुरु गरिन् । उनले पुलुक्क माइलीको अनुहारमा हेरिन् । माइली मुसुक्क हाँसिन् । माइली त पूmलजस्तै राम्री लाग्यो सहारालाई । उनले रमाई रमाई पूmल टिपिन् र मज्जाले खाइन् । द्घ

मो. ९८४१६३४६४३

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments