पुस्तक समीक्षापुस्तक समीक्षाराधाको ‘संवाहक’ लाई पर्गेल्दा माधव घिमिरे ‘अटल’त्यसो त अहिले अनेक विधामा लेखिएका बग्रेल्ती कृतिहरू हरेक दिन नै विमोचन, लोकार्पण वा सार्वजनिकीकरण हुन्छन् र छ्याप्छ्याप्ती पाइन्छन्, साहित्यिक बजारमा । लेखकका नजरमा ती निकै राम्रा, जीवनोपयोगी र समसामयिक समाजका आरसी पनि देखिएलान्, सिन्डिकेट पत्रकारिताको नजरमा तिनको मूल्य सुस्वादु सपेटा र सोमरस मिश्रित पार्टीले निर्धारण गर्लान् वा निजी निकटता वा विकटताले भारी पृथक भूमिका निर्वाह गर्लान् । परन्तु एउटा कृति कालजयी हुने वा नहुने भन्ने विषयको प्रमुख निर्धारक चाहिँ पुस्तक प्रयोगकर्ता वा सचेत एवं ‘कागले कान लगेको भन्दा कागको पछि नदगुर्ने’ पाठक नै हुन् । पाठकको सन्तुष्टि भनेकै पुस्तक बाँच्ने दर्बिलो एवं गर्विलो आधार हो । मूलतः यो कालखण्डमा युवा पाठकको ठूलो जमात गजल, मुक्तक र कविता विधातिर आकर्षित छ । अलिक पाको जमात काव्य र आख्यान दुवैतिर विभाजित छ । त्यसमा पनि उपन्यास र कथा लेखनले पछिल्लो कालखण्ड बजार निकै तताएको अनुभूत गर्न सकिन्छ भने नाटक, निबन्ध, महाकाव्य जस्ता विधा केही सुस्ताएको अनुभव हुन्छ । यस्तो परिस्थितिमा समेत लघुकथा विधा आम पाठकमाझ निकै लोकप्रिय बन्दै गएको छ, बजार फराकिन प्रारम्भ भएको छ जो निकै सुखद पक्ष हो ।  भनिन्छ, लघुकथा एउटा मिनिस्कर्ट जस्तै हो जो विषयलाई पूर्णता दिनका निम्ति मनग्गे हुन्छ भने रुचिकर एवं अपट्यारिलो बनाउनका निम्ति सोचेझैँ सङ्क्षिप्त हुन्छ । लघुकथा लेखनले विशेष सचेतताको माग गर्दछ । एकजना विद्वानले भनेका छन् –“म लघुकथा मन पराउँछु किनकि तिनीहरू हामीले बाँचेको वास्तविक जीवनका दर्पण हुन् ।” चाहे जोसुकै लघुकथाकारको हकमा किन नहोस् बराबर लागू हुने तथ्य के हो भने “यो निकै कठिन कर्म हो किनकि लघुकथाले थोरै शब्द खर्चेर शब्दमा जीवनको तस्बिर खिच्ने सामथ्र्य राख्दछ र लघुकथा लेखन गर्दा शब्द सीमितताका कारण खराब लेखन गर्ने समय नै हुँदैन ।” अब सवाल रह्यो लगभग नवोदित लघुकथाकार राधा कार्कीका बारे । धेरै चर्चा–परिचर्चा भन्दा बाहिरकै किन नहुन् उनी, उनको पहिलो लघुकथा आद्योपान्त अध्ययन गर्दा किटेरै भन्न सकिन्छ उनी लघुकथा सम्भावनाकी खानी हुन् । उनका लघुकथामा विषय तथा कथानकको यथेष्ट वैविध्य भेटिन्छ । स्वाभाविक रूपमा समकालीन समाजको सपाट तस्बिर खिच्न र साङ्गोपाङ्ग विवरण बिनामोलाहिजा आफ्ना रचनामा समाविष्ट गर्न सक्नु लेखकको शक्ति हो ।  समाविष्ट लघुकथालाई नियाँल्दा लेखिकाले अनेक खाले विकृति, विसङ्गति र बेइमानीका विरुद्ध जेहाद छेडेकी छन् । उन्मत्तताले गाँजेको, क्रूरताले रेटिएको, अमानवीयताले थलिएको हाम्रो वर्तमानलाई उनले मज्जैले उधिनेकी छन् । खाँटी नेताको स्त्रीलम्पट चरित्र, कामदारलाई गरिने तुच्छ व्यवहार विरुद्ध अरिङ्गालझैँ खनिएकी छन् उनी । प्रेमलाई मोलतोलको वस्तु बनाइनु, गरिबीलाई हियाइनु, धर्मको नाममा ढोँग र पाखण्ड रचिनु, मायाको बहानामा कायामा गिद्देनजर लगाइनु तथा अन्याय र अत्याचारका असमेल नदीहरू बगाइनु उनका कटाक्षका विषय बनेका छन् लघुकथा सङ्ग्रह ‘संवाहक’ मा । कामचोर कर्मचारीको असली नियतमात्र पर्दाफास गरेकी छैनन् उनले बरु एक्काइँसौँ सदीमा व्याप्त दलितप्रतिको चरम भेदभावलाई पनि झटारो हान्न भ्याएकी छन् राधाले । पुरुष नौटङ्कीको पर्दाफास, असङ्ख्य ज्यादतीका किस्सा, गुप्त स्वार्थको शृङ्खला, दायित्वहीनता, धोकाधडीका अनेकौँ इतिवृत्त, तिगडम र जालझेलका वृत्तान्त, स्वार्थमा निर्लिप्त कुमान्छेहरूको कैरन नै उनका कथाका कच्चापदार्थहरू हुन् यो सङ्ग्रहमा । वृहत् परिवर्तनले सम्बोधन गर्न नसकेका सपना, व्यक्तिपिच्छेका अजिबका बानीबेहोरा, संविधानलाई खोष्टोमा परिणत गर्ने प्रपञ्च, प्रकृतिले हेपेका निरीह बसेरीहरू र आजका मान्छेले समेत निःसङ्कोच अँगालेको ‘प्रारब्ध’ बारेका अनुभूति पोखेकी छन् र परिवर्तनको ‘संवाहक’ बन्ने यत्नमा अघि बढ्ने परोक्ष सङ्कल्प बोकेकी छन् कार्कीले । यस्तै यस्तै अनेकन् विषयबस्तुको उत्खननमा जुटेकी छन् कार्की जसले बदलिँदो समाजमा कुनै न कुनै प्रभाव छोडेको छ । ‘संयम’ बाट खेवारा भएको सङ्ग्रहको मैझारो चाहिँ ‘प्रतिबद्धता’ मा भएको छ । जम्माजम्मी ६७ वटा कथा सङ्गृहीत ‘संवाहक’ शालीन भाषा, सरस शब्द सँगालो र शिष्ट व्यङ्ग्य प्रहारको समष्टि हो । व्यष्टिमा गणना गर्दा विविध विषयवस्तु देखिए पनि समग्रमा सभ्य समाजको निर्माण नै यसको अभीष्ट हो भन्न सङ्कोच मान्नु पर्दैन । कथा सङ्ग्रहमा नकारात्मक विषयलाई सकारात्मक रूपान्तरणको औजारका रूपमा सार्थक उपयोगको चेष्टा गरिएको छ । ‘म भित्र मेरो देश उठ्यो भने तिमीले आफू गर्वको हकदार भएको ठान्नू’ भन्ने कथाकारको स्वीकारोक्तिलाई आकलन गरियोे भने र ‘तिमी माया गर देशको, देश मजस्तै स्वाभिमानी छ’ भन्ने कथनलाई सार्थक ढङ्गले अथ्र्याइयो भने ‘संवाहक’ लघुकथा सङ्ग्रहको मूल मर्म खोज्न कहींकतै भौँतारिनु पर्दैन ।  कथाहरू कति पठनीय छन् र सङ्ग्रह कति सङ्ग्रहणीय छ भन्ने जिम्मा पाठकलाई छोड्नुपर्छ भन्ने मत मेरो छ । हरेक सचेत पाठक आफैमा सुन्दर समीक्षक पनि हो । परन्तु यसका निम्ति कृति पढ्न भने हिच्किचाउनु हुन्न । अध्ययनपछि नै यसबारे टीकाटिप्पणी गर्नु सान्दर्भिक हुन्छ भन्ने दृढ मत पनि छ यो पङ्क्तिकारको ।  अन्तमा शिष्ट, सभ्य र असल समाज निर्माणार्थ राधा आगामी दिनमा समेत ‘संवाहक’ बन्दै जाऊन् र कथा शीर्षकहरूमा अलिकति थप ध्यान दिऊन् उनले भन्ने कामना गर्दछु । लेखन थप निखारियोस् र लेखनीको टुप्पो थप तिखारियोस् भन्ने शुभकामना समेत व्यक्त गर्न चाहन्छु । द्घ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments