बिहानीदेखि नै आकाश घुम्मिएकाले चिसो निक्कै बढेको थियो । तर बाहिर मानिसहरूको आवतजावत बाक्लिँदै जाँदा सहरका सडकहरू भने तातिँदै गइरहेका थिए । फराकिलो चौबाटोको देब्रे कुइनेटोमा ठूल्ठूला पसलहरूको रमझममा च्यापिएर रुन न हाँस्नु भएको एउट सानो पुरानो पान पसल थियो । त्यसको ठीक विपरीत सडक पारि रङको पाप्रा उप्किएर खिया मात्र देखिने ठूलो चारकुने साइनबोर्डको फेदमा ‘मिते चोक’ लेखेको धमिला अक्षरहरू देखिन्थे । त्यो लेखाइबाट सुरुको ‘र’ हराएको अन्दाज लाउन सकिन्थ्यो ।

यस बेला त्यो पान पसलभित्र आँखा, नाक र मुख मात्र देखिने गरी ऊनीको बाँदरे टोपी लाएको अधबैँसे पसले जाडो मान्दै बाहिरको रमिता हेर्दै थियो । उसले जाडो पो नछेल्ने हो कि जस्तो पातलो ज्याकेटलाई छातीमा हातहरू बाँधेर जीउमा टमक्क कसेको थियो । ग्राहकहरूको पर्खाइमा भन्दा अनवरत् रूपमा आउ–जाउ गरिरहेका बटुवाहरूले लाएका न्यानो लुगाहरू कोट, ज्याकेट, स्वेटर आदिमा उसको विशेष ध्यान गइरहेको थियो । जाडोले ओगटेर बाँकी रहेको चेतनामा ती पहिरनहरूको के कति दाम पर्दो हो भनेर ऊ अड्कल पनि काटिरहेको थियो । हरेक जाडोको याममा ग्राहक नभएको शून्य समयलाई ऊ यसरी नै सदुपयोग गथ्र्यो ।

त्यो पसल र पसलेलाई चिनाउने साइनबोर्ड नभए पनि ग्राहकहरूको सानो जमात बीचमा तिनीहरूको नाम र पहिचान अवश्य थियो । चुरोट किन्न आउने उरन्ठ्यौला स्थानीय ठिटाहरूले र हावा तालका कलेजका विद्यार्थीहरूले त्यस पसलेलाई ‘दिनबन्धु ब्रो’ भनेर सम्बोधन गर्थे । त्यही नामलाई समयले काँटछाँट पार्दै पसलको नाम नै ‘ब्रो पान पसल’ बनाइदियो । दिनबन्धुलाई त्यो ‘ब्रो’ शब्दले आफ्नो पान पसलको आधुनिकता र इज्जत बढाएकै होला भन्ने लागेको थियो । झस्किएर उसले घडी हे¥यो, दस बजेर सत्ताइस मिनेट गइसकेछ । हतार हतार तीन पाकेट चुरोट ताकबाट झिकेर आफ्नो अघि राख्यो र टाउको तन्काएर बाटो उँभो हे¥यो । परबाट भर्खरै साठी नाघेको गोरो बूढो मान्छे हातबाट कालो छालाको ब्याग झुन्ड्याएर फटाफट आउँदै गरेको देख्यो । ‘शेखरजङ सर’, मनमनै साउती ग¥यो दिनबन्धुले ।

“नमस्कार सर”, भन्दै उसले चुरोटका पाकेटहरू शेखरजङ गुरुङलाई दियो ।

“मैले आज सलाई घरमै छुटाएछु, दिनबन्धु ¤” शिष्ट र विनम्र आवाजमा उनले भने ।

दिनबन्धुले सलाईको एउटा बक्सा पनि केही नबोली दियो । कोटको खल्तीमा चुरोट र सलाई थन्क्याएर शेखरजङ गुरुङ आफ्नो बाटो लागे ।

“बूढोले पैसा नतिरी हिँड्यो त” अघिदेखि पसलमा बस कुरेर बसिरहेको

मान्छेले भन्यो ।

“उहाँ हामीले चिनेको मान्छे हुनुहुन्छ । कलेजको प्रोफेसर शेखरजङ गुरुङ सर दस वर्षदेखिको मेरो पसलको ‘परमानिन्ट’ ग्राहक हो । दिनमा तीन ढब्बा चुरोट सधैँ लानुहुन्छ । महिना मरेपछि सब दाम र बक्सिस् दुवै पाइहाल्छु म ।” दिनबन्धुले वेलिविस्तार सुनायो ।

बस कुर्ने त्यो मान्छेले जर्दा पान किनेर मुखमा कोच्यो र अप्ठ्यारो पाराले भन्यो, “त्यत्रो बेसी चुरोट खायो भने क्यान्सर लागेर मर्छ तिम्रो प्रोफेसर … ¤” उसले कुरा टुङ्ग्याउन नपाउँदै बस आएर अगाडि रोकियो र ऊ झटपट बसमा चढ्यो । दिनबन्धु अकमक्क परेर प्रोफेसर शेखरजङ क्यान्सर लागेर मरे भने के होला नि भनेर कल्पिँदै कल्पना गरेर बसिरह्यो ।

बेलुकी चार बजेतिर शेखरजङ गुरुङ रमिते चोकमा बसबाट ओर्लिएर सरासर ब्रो पान पसलमा गए । कोटको भित्री गोजीबाट सेतो खाम निकालेर भने “लौ दिनबन्धु, यो महिनाभरिको दाम । भोलिदेखि नयाँ हिसाब सुरु है ¤”

दिनबन्धुले खाम दुवै हातले अदबसाथ थाप्यो र गल्लामा थन्क्यायो ।

“सर, यो एउटा चुरोट मेरो तर्फबाट ।”

“भो, राख, दिनबन्धु । मलाई घरमा चुरोट पिउन निषेध छ । बाहिर पनि नपिउन कडा आदेश छ तर के गर्ने, लत लागिहाल्यो । मैले चुरोट पिउन छोडिदिएँ भनेर श्रीमतीलाई ढाँटेको छु । यो मेरो ठूलो कमजोरी हो ।”

दिनबन्धुले सेतै फुलेका शेखरजङ सरलाई परसम्म टिठ लाएर हेरिरह्यो । मन नपरेको मान्छे जस्तो उसको कल्पनामा शेखरजङ सर क्यान्सर लागेर मरेको देखा प¥यो । उसको मन त्यसै त्यसै भक्कानिएर आयो ।

सधैँ जस्तो शनिबार बेलुकीपख हप्ताभरिको लागि पसलको सामान किन्न नीलकण्ठ होलसेल मार्केटतिर लाग्यो दिनबन्धु । घडी बिँडीको विज्ञापन भएको नयाँ बोराको झोला उसले काखीमा च्यापेको थियो । अचानक शेखरजङ सरलाई बिँड नभएको सानो फलामको कोदालो हातमा झुन्ड्याएर आउँदै गरेको देख्यो । उनको उस बेलाको पहिरनले खेतबारीमा ज्यालामा काम गर्ने मान्छे जस्तो देखिन्थे । उनी चुरोटको लामो लामो सर्को तान्दै एक सुरमा हिँडिरहेका थिए ।

“सर, नमस्कार ¤ कता हिँड्नु भो कोदालो बोकेर ?”

“ए, … फूलबारीमा काम गरुँ भनेको कोदाली कामै नलाग्ने गरी भुत्ते भएछ । अर्जाप्न आरन खोज्दै हिँडेको है, दिनबन्धु ¤”

“कोदाली” सम्म त दिनबन्धुले बुझ्यो तर ‘अर्जाप्नु’ र ‘आरन’ उसको दिमागमा अटेन । त्यसले मुख आँ गरेको हिसाबमा कुरा राम्रो बुझेन भन्ने थाहा पाएर हाँस्दै भने, “धार लाउने ठाउँ खोज्दै छु ।” भने शेखरजङ सरले ।

दिनबन्धुलाई हतार थिएन । उसले कोदाली बोकी दिएर बूढालाई चुरोट पिउन सजिलो पारिदियो । तेर्सो बाटो निकै पर पुग्दा पनि कोदाली धार लाउने ठाउँ भेटिएन । शेखर सरले अर्को चुरोट किनेर सल्काए र गफ गर्दै दुवै बिस्तारै फर्किए । अघि भेट भएकै ठाउँमा पुगेपछि दिनबन्धुले भन्यो, “अलिक मास्तिर भेटिन्छ कि धार लाउने ठाउँ ¤”

“आजलाई खोज्ने काम यति नै होस् । त्यो अर्को शनिबारको भाग राख्नुपर्छ ।” भनेर कोदाली हातमा झुन्ड्याउँदै शेखरजङ सर घरको बाटो लागे ।

घरमा थाह नपाउने गरी चुरोट पिउन शनिबारको दिन शेखरजङ सरले गर्ने चलाखी बुझेर दिनबन्धु रमाइलो मानेर हाँस्यो र नीलकण्ठ होलसेल मार्केटतर्फ लाग्यो ।

झन्नै दुई वर्षपछि सधैँ जस्तो महिनाको अन्तिमसम्मको हिसाब खाममा हालेर बुझाउँदै गर्दा शेखरजङ गुरुङले भने “अब म रिटायर्ड भएँ । कामबाट अवकाश पाएँ । भोलिदेखि कलेज धाउनु पर्दैन ।”

दिनबन्धुले शेखरजङ सरको पात्लिँदै गएको सेतो कपाल र अलि कुप्रिन पो लागेको हो कि जस्तो काँधलाई हे¥यो । “सर अब धेरै बूढो हुनुभएछ” भन्ने सोचेर मन अमिलो पा¥यो । अब क्यान्सर लागेर मर्ने पो हुन् कि भन्ने सोच नचाहँदा नचाहँदै फेरि दोहोरियो ।

अब उप्रान्त आफ्नो दिनचर्या बद्लिने कुरा निश्चित थियो तर सधैँ जस्तो दिनबन्धुले उही समयमा आस गरेर पो बस्ने हो कि भनेर शेखरजङले भने “भोलिबाट तिम्रो पसल आउने मेरो समय तालिका बदलिने भो है दिनबन्धु ।” भन्दै हतार नमानी घरतिर लागे ।

शेखरजङ बूढा प्रायशः दुई तीन बजेतिर ब्रो पान पसल पुग्थे, पसल अगाडि एकाध घण्टा अल्मलिन्थे । त्यसैबीच तीनवटा चुरोट पिएर उनी घर फिर्थे । दिनबन्धुले उनलाई नै बस्न भनेर नयाँ प्लास्टिकको टुल पनि किनेको थियो । समय बित्दै जाँदा उनी त्यस पसलको नाक–नक्साको एउटा हिस्सा बनिसकेका थिए ।

“दिनबन्धु ब्रो, प्रोफेसर बूढोसँग

खूब यारी जमेको छ तिम्रो आजकल”,

कलेजका हावादारी लड्काहरू दिनबन्धुलाई जिस्काउँथे ।

आजकल उसलाई ‘ब्रो’ शब्द मन नपर्ने सस्तो लाग्न थालेको थियो ।

शनिबार सधैँ पान पसल बन्द गरेर किनमेलमा निस्कन्थ्यो दिनबन्धु । त्यो एक दिन शेखरजङ गुरुङले कोदाली उद्याउने आरन खोज्नुपथ्र्यो । तर अचानक पुस महिनाको दोस्रो हप्ताको आइतबारदेखि उनी दिनबन्धुको पान पसलमा चट्टै जान छोडे । यस्तो कसरी हुन सक्छ ? भनेर ऊ चिन्तित भयो । हप्ता, दस दिन, महिना दिन बितेपछि अब शेखरजङ सर कहिल्यै उसको पान दोकानमा आउँदैनन् भनेर हो कि उसले किनेको प्लास्टिकको टुल घरको भण्डार कोठामा थन्काइदियो । कतै बूढा … ? उसको मनले शेखरजङ सरको काजकिरिया सबै ग¥यो । बिस्तारै पारिवारिक र व्यावसायिक व्यस्ततामा झेलिँदै दिनबन्धुको दिनचर्या शेखरजङ गुरुङको अनुपस्थितिमा पनि स्वाभाविक हँुदै गयो ।

अब दिनबन्धु आफै पनि बुढेसकालको गोरेटोमा डोहोरिँदै थियो । रातदिनको कामकाजबाट विरक्त भएर उसले आइतबार पनि पसल खोलेन । दिउँसोको खाना खाएर बजारदेखि तीन माइल परतिरको जास्मिन पार्कमा बसेर दिन काट्न हिँड्यो । यो एउटा गजबको संयोग बन्न पुग्यो । पार्कको पल्लो डिलको बेन्चमा बसेर शेखरजङ पर परको पहाडहरूको दृश्य झोक्राएर हेरिरहेका थिए । उसको अनुहारभरि दुःख र उदासिनताको बादल मडारिरहेको छर्लङ्ग देखिन्थ्यो । उत्तेजित मनले दिनबन्धु शेखरजङको छेउमा गयो र नबोली त्यही बेन्चको एक छेउमा बस्यो ।

बिस्तारै टाउको घुमाएर उसलाई हेरेपछि शेखरजङ खुसी हुँदै बोले, “अहो, दिनबन्धु ¤” उनले एकटक लाएर आफ्नो पुरानो पान पसले साथीलाई हेरे र भने, “आऊ, मेरो छेउमा बस ।”

एक्लै बसेर पिउँला भनेर दिनबन्धुले एक बट्टा चुरोट साथै ल्याएको थियो । निकाल्यो र भन्यो, “सर, चुरोट पिउँ ¤”

“मैले त चुरोट छोडेँ, दिनबन्धु ¤” यति भन्ने बित्तिकै उनी भक्कानिएर रोए । दिनबन्धु अलमल्ल परेर बूढो प्रोफेसरलाई हेरिरह्यो ।

“मेरी श्रीमती क्यान्सर लागेर मरिन् । मलाई चुरोट नपिउनू भनेर रोक्ने कोही रहेन । त्यसैले मैले नै आफैलाई रोकेँ । जिउँदोमा सकिनँ, ऊ मरेपछि उसको इच्छा पूरा गरिदिएँ ।”

दिनबन्धुको हातबाट चुरोटको पाकेट फत्रक्क भुइँमा झ¥यो । उसले फेरि त्यो टिपेन । द्घ

मो.९८४२६३४२५१

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments